Logo

मेयर बालेनद्वारा प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त – राज्य असफल

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले उनको सुरक्षा, उद्दार र उनले भोगेको हरेक चरणमा राज्य असफल भएको बताएका छन् ।

उनले लेखेका छन् – ‘एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

‘नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ । ‘

‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।’

मंगलबार संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो । इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्