Logo

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

१७ माघ, मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहो¥याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु । यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’’, प्रधानमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो ।

प्रधानमन्त्रीले थप्नुभयो, ‘‘तपाईहरूले आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्नुहुन्छ । म नयाँ अठोटका साथ काम गर्न आएको छु । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु । सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीका साथ आएको छ । त्यसलाई मैले गम्भीर रूपमा लिएको छु ।’’राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ सम्वोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको उर्जा र सम्मानलाई जोड दिनेछु । तपाईहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस् । मैले पनि अभिभावकीय भूमिका खेल्छु । तपाईहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ । तपाईहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस् ।’


‘‘निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न निर्देशित गर्छु’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले सचिवहरूलाई दिएको निर्देशनमा धेरै कुरा भनिसकेको छु । त्यसलाई तपाईहरूले गम्भीरतापूर्वक लिनुभएको होला भन्ने विश्वास लिएको छु । मन्त्रिपरिषदले पूर्णता पाएको छ । तसर्थ, हिजो बनेको कार्ययोजनामाथि सामूहिक छलफल गर्नुछ । अब मन्त्री र सचिवहरूसमेत राखेर फेरि छलफल गर्नुपर्ने आवश्यकता महसुश भएको छ । २।३ दिन राम्रोसँग छलफल गरेर काममा गति दिने सोचेका छौँ । सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम यही हलमा घोषणा गरेका थियौँ । संसदमा विश्वासको मत लिँदा राखेका विषय, सचिवहरूलाई दिएको निर्देशन र नीतिगत प्राथमिकतासमेत राखेर कार्ययोजना बनाउन आवश्यक छ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईहरूको रिपोर्ट मैले सुनेँ । यसले सरकारी संयन्त्रको स्थिति बुझ्न राम्रो सहयोग पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन आवश्यक छ । सेवा प्रवाहको क्षेत्रमा परिणाम देखिन आवश्यक छ ।

प्रशासनमा उच्चस्तरीय सुधार आवश्यक बैठकमा प्रधानमन्त्री प्रचण्डले देशमा उच्चस्तरीय प्रशासन सुधार आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उच्चस्तरीय प्रशासन सुधार कार्यदल बनाउने कुरामा मेरो ध्यान गएको छ । अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ ।‘साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा हामी छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सर्भर डाउन भएको घटनाबाट पनि हामीले शिक्षा लिन सक्नुपर्छ । त्यसका लागि नीतिगत र व्यवथापकीय क्षेत्रमा सुधार आवश्यक छ । त्यसका लागि नियमित बैठक र छलफल गर्नुपर्छ । बैठक र छलफल भएपछि मात्र समस्या कहाँ छ, समाधान कसरी गर्ने भन्ने थाहा हुन्छ । त्यसका लागि हामी सबै गम्भीर बनौँ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देश अहिले पनि अप्ठेरो अवस्थामै छ । हामीले गम्भीर रुपमा काम गरेनौँ र परिणाम दिएनौँ भने राष्ट्रको आवश्यकता सम्वोधन गर्न सक्दैनौँ । यो हाम्रा लागि ठूलो अवसर हो । सबै मिलेर देश बनाऔँ । बैठकमा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्रीको सक्रियताले आफूहरूमा काम गर्ने उर्जा प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले कागजमा उल्लेख गरेका विषयहरू परिणाममा देखिनुपर्छ भन्नेमा तपाई हामी सचेत हुनुपर्छ । प्रधानमन्त्रीज्यूले काम गर्ने राम्रो वातावरण बनाउनुभएको छ । यो हामी सबैका लागि राम्रो अवसर हो । प्रधानमन्त्रीज्यू यसपटक केही गरेर छोडौँ भन्नेमा हुनुहुन्छ । त्यसले हामीलाई पनि उर्जा दिएको छ । त्यसका हामी सबैको पनि उच्च मनोवलका साथ क्रियाशीलताको खाँचो छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखहरूले आ–आफ्नो निकाय र कार्यालयहरूको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे संक्षेपमा बिफ्रिङ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्