Logo

‘क्यामिनो’को नायिकामा वर्षा सिवाकोटी

दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदलै अमेरिका प्रवेश गर्ने कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को छायांकन नयाँवर्षदेखि सुरु हुने भएको छ । दुईमध्ये एक नायकको भूमिकामा प्रदीप खड्काले अभिनय गर्दैछन् । अर्का एक नायकको खोजी जारी छ ।

नायिकाको भूमिकामा भने वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । निर्देशक दीपक वलीले वर्षासँग मौखिक सहमति भएको बताएका छन् ।‘लिखित सहमति हुन बाँकी छ,’ उनले भने । वर्षाले पनि निर्देशक वली र अन्य टिमसँगको तस्वीर सेयर गर्दै ‘भेटघाट’ क्याप्सन लेखेकी छन् । वर्षाको जोडी फिल्मभित्र कुन नायकसँग बाँधिनेछ भन्ने खुलाइएको छैन ।

गत साता निर्माताले सार्वजनिक गरेको टिजर पोस्टरले फिल्मको कथावस्तुबारे धेरै खुलासा गर्छ । उक्त पोस्टरसँगै फिल्मसँग अभिनेता खड्काको संलग्नता खुलाइएको थियो । उक्त पोस्टरमा पानीजहाजमा कोचाकोच आप्रवासीहरुको दृश्य देख्न सकिन्छ । पछिल्लो समय अमेरिकाले दक्षिण अमेरिकी मुलुकका सीमा हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी संकटको सामना गरिरहेको छ जसमा नेपाली पनि संलग्न छन् । उक्त जोखिमपूर्ण बाटो हुँदै अमेरिकातर्फ लाग्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्