Logo

कालले समेत तपस्या गरेकाे ललितपुरको कालेश्वर महादेव तीर्थस्थल

ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये कालेश्वर महादेव पनि आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्य भागमा कोन्ज्योसोम गाउँपालिका दक्षिण पूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटी खेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव ।

कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ । स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार सतीदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो । प्राचीनकालमा त्यस ठाउँमा काल पुरुषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटी खेलको घडघडा नदी र मसान खोलाको सङ्गमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुङ्गाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो ।

तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई काल पुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिङ्ग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ ।

कालेश्वर महादेवलाई ललितपुरको प्याङ्गाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन् । समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन् ।

प्याङगाउँमा रहेको आंगःछे ९देवस्थल० मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो । यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो । तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीति नियम छन् । आंगःछे भित्र मूल पुजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन् ।

प्याङ्गाउँका नेवार पहिले ललितपुरको शङ्खु ९हाल कोञ्ज्योसोम गाउँपालिका–२० मा बसोबास गर्थे । पौराणिक कालमा प्याङ्गाउँलाई शङ्गु भनिन्थ्यो । हाल प्याङ्गाउँमा रहेको पाटी ९फल्चा०मा अरिमल्लको पालाको शिलापत्र भेट्न सकिन्छ । गाउँमा बसी आएकालाई नेवारहरूले गामों भन्दछन् । प्याङ्गाउँवासीलाई पनि चापागाउँ बजार, ठेचो, पाटनलगायतकाले पहिले पहिले गामों वा गामल भन्थे । पछि २०२१ सालतिरदेखि उनीहरूलाई गामोंको सट्टा ज्यापू वा महर्जन भन्न थालियो ।

पौराणिक इतिहासअनुसार भक्तपुरमा बसोबास गर्ने मल्ल राजाका सन्तान व्यापार वा सिकारको सिलसिलामा ललितपुरको शङ्खुमा गई बसोबास गर्दै गर्दा त्यहीँकी एक युवतीसँग प्रेम बस्न गई शारीरिक सम्बन्ध रहन गयो र सन्तान उत्पत्ति भए । राजाका रखौटी श्रीमतीपट्टिका सन्तान भएकाले दरबारमा नस्वीकारिए पछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ ९बाँस० को पाथी बनाएर बेचबिखन गरी खान लालमोहर लगाएर आदेश भएअनुसार यहाँ यो बस्ती बसेको र प्याङपाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ ।

शङ्खुमै रहँदा बस्दा एक दिन घुम्दै गिम्दीमा रहेको देउता खोला पुग्दा एक जना गामलले लहराबाट दूध जस्तै सेतो पदार्थ तपतप चुहिरहेको देखे । त्यसलाई पच्छ्याउँदै माथि माथिसम्म आउँदा कालेश्वर महादेवको शिवलिङ्ग भेट्टाएको ऐतिहासिक कथा पनि छ । कालेश्वरको टुप्पोबाट नै बग्दै गएको खोलालाई देउता खोला भनिन्छ । यसै बेलादेखि नै यस स्थानमा अवस्थित महादेवलाई शक्तिको रूपमा पूजा गर्न थालिएको बताइन्छ ।

‘कालेश्वरको शिवलिङ्ग धेरै पछिसम्म पनि खुल्ला रूपमा रहेको थियो । यातायातको असुविधा, निकै ठुलो उचाइमा रहेको र बस्ती पनि नरहेको यस स्थानमा विकासका पूर्वाधार पुर्याउने र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सम्भाव्यताको बारेमा सरकारी निकायलगायत सम्बन्धित कसैले पनि सोच्न सकेका थिएनन्’, कालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष चर सुन्दर महर्जन भन्छन्, ‘आफ्नो कुल देवता खुल्ला रहेको र संरक्षण नभएको पाएपछि २०५२ सालतिर प्याङगाउँका एक दुई जनाले गएर मूर्तिलाई बीचमा पर्ने गरी चारैतिर ढुङ्गाको गाह्रो लगाए । दुई ढोका र झ्याल राखे । पाँच÷छ घण्टा टाढा तल रहेको वाग्मतीबाट बालुवा र पानी बोकाएर माथि ढलान गरे ।’

महर्जनका अनुसार विसं २०७१ मा उक्त मन्दिरको भवन भत्कियो । प्याङगाउँवासी हेर्न आउँदा बिजोग लाग्दो स्थिति देखियो । उति बेला गोटीखेल गाविस थियो, गाविसले पनि प्याङगाउँवासीको देउता भनेर बेवास्ता गरिराखेको अवस्था थियो । अहिले पनि गोटीखेलवासीलगायत स्थानीय जनप्रतिनिधिले यो प्याङगाउँवासीको हो भनेर हेला गर्ने गरेको अध्यक्ष महर्जन बताउछन् ।

विकासका पूर्वाधार पुर्याउन सके स्थानीय तहलाई नै पर्यटन व्यवसायमार्फत फाइदा पुग्न सक्छ, तर यहाँको पर्यटकीय सम्भावनाको बारेमा स्थानीय सरकारलाई समेत ज्ञात छैन । अहिले सिसवनमाथि देउराली भन्ज्याङसम्म सडक त पुगेको छ, तर थप पर्यटकीय पूर्वाधार पुर्याउन सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयवासी बताउँछन् ।

आफ्ना कुलदेवताको संरक्षण र मन्दिरको पुनः निर्माणमा कसैको चासो पुग्न नसकेपछि प्याङगाउँमा सम्बन्धित गुठियार र सरोकारवालाको भेला राखियो । भेलाबाट साधारण तरिकाले भए पनि मन्दिर निर्माण गर्ने सल्लाहबमोजिम कम्तीमा पनि रु आठ÷नौ लाख पर्ने इस्टिमेट निस्कियो । प्रत्येक घरधुरीबाट एक÷एक हजार अनिवार्य उठाउने निर्णय गरियो । सामग्री मन्दिरसम्म पुर्याउनका लागि पालैपालो सबै बोकेर जाने निर्णय भयो ।

कालेश्वरको देब्रेपट्टि अग्लोडाँडा छ जसलाई बुर्जाडाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ । जहिले पनि आफू भन्दामाथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वरडाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन छ ।

त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौँ हरिया थुम्का देखिन्छन् । कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठुलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ । काल पुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ । सोही चुनढुङ्गालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन् । देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुङ्गा २०७२ को गोर्खा भुईँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ ।

कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ । लगनखेलबाट गोटीखेल करीब ५० किमीको दूरीमा रहेको छ ।

लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ ९चौघरे०, कतवन भएर गोटीखेल जाने बस छुट्छन् । वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुङ्खर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ । गोटीखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्दैनन् । कालेश्वर पुग्न गोटीखेलबाट करिब चार घण्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन करिब दुई घण्टा समय लाग्छ ।

कालेश्वरको टुप्पोबाट तराईलगायत काभ्रे, मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लाङ्टाङ हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक धार्मिक महत्त्व बोकेको कालेश्वर पछिल्लो समय एक उत्कृष्ट र सम्भावनायुक्त पर्यटकीय क्षेत्रको रूपमा परिचित हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्