Logo

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार बिहान केन्द्रीय संसदीय कार्यसमितिमा त्यसबारे छलफल गरेका थिए ।

बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ भने त्यसका लागि राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समन्वय र परामर्श गर्न सभापति देउवालाई जिम्मेवारी दिएको छ । प्रमुख सचेतक रमेश लेखकले बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कांग्रेसकातर्फबाट उम्मेदवारी दिने निर्णय भएको बताए । ‘हामीले उम्मेदवारी दिन्छौं, त्यसैको तयारीबारे छलफल भयो ।

साथै राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरेर सकेसम्म कांग्रेसको उम्मेदवारलाई विजयी गराऔं भन्ने हाम्रो प्रयास हुन्छ,’ उनले भने । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको गतवर्ष फागुन २१ मा कार्यकाल सकिएपछि त्यसयता उपाध्यक्षको निर्वाचन भएको छ । राष्ट्रिय सभाले २३ माघमा उपाध्यक्षको निर्वाचन गर्ने कार्यतालिका तोकेको छ । त्यसका लागि २२ माघमा उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

आगामी २२ माघमा हुने राष्ट्रिय सभाको उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने र २३ गते निर्वाचन हुने कार्यक्रम छ । प्रमुख सचेतक लेखकले दलहरूबीच सहमतिको वातावरण भए राष्ट्रियसभाको उपाध्यक्ष सर्वसम्मतरुपमा समेत चयन हुन सक्ने बताए । ‘हामीले मुलुकको आवश्यकतालाई हेरेर प्रधानमन्त्रीजीलाई विश्वासको मत दिएका हौं । अहिले पनि हाम्रो प्रयास संसद्‌मा रहेका दलहरूबीचको समन्वय र सहकार्य नै हो,’ उनले भने, ‘त्यहीकारण हामीले कम्तीमा विपक्षमा रहेका दलहरूलाई हामीसँग गाँसेर अघि बढिरहेका छौँ ।’

उनले राष्ट्रिय सभाको उपाध्यक्ष सर्वसम्मत चयन गर्न छलफलको वातावरण बनेको अवस्थामा त्यसबारे छलफल गर्न सकिने बताएका छन् । सभापति देउवाले माघ २६ गते संसदीय दलको बैठक बोलाएका छन् । प्रमुख सचेतक लेखकका अनुसार बैठक माघ २६ गते बानेश्वसरस्थित ल्होत्से भवनमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्