Logo

शिवरात्रीको पूर्व सन्ध्यामा पशुपति सफा गर्दै सदस्य सचिव डा.थापा

काठमाडौं । महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति क्षेत्र सफा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा आफैं लागि परेका छन् । संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किराँतीको विशेष पहल पछि कोषले शिवरात्रीलाई लक्षित गरी रंगरोगन, साजसज्जा र सफाईमा जोड दिएको छ ।

कोषका कर्मचारी भन्छन् “सफाई गर्ने जनशक्ति एकदमै न्यून छ, उपलब्ध पनि काममा ध्यान दिँदैनन्” उनले थपेत्यसैकारण कोषका सदस्य सचिव डा. थापा दैनन्दिन यि विविध सेवामा खटिरहनु भएको छ । जसले गर्दा हामीलाई समेत प्रेरणा र ऊर्जा थप भएको छ ।”

पशुपति क्षेत्रमा भष्मेश्वर घाट, आर्यघाट, साधुसन्तका कुटी, विद्युतिय शवदाह गृह, सार्वजनिक शौचालय आदि चौबिसै घण्टा सञ्चालन हुने भएकाले पनि सरसफाईमा चुनौति रहदै आएको छ । शिवरात्री नजिकिदै गर्दा भक्तजन र साधुसन्तको घुँईचो बढ्नाले थप चुनौति रहने देखिन्छ । त्यसलाई चिर्नका निमित्त सदस्य सचिव डा. थापा स्वयम्को अग्रसरतामा समग्र पशुपति क्षेत्रलाई सुसज्जित बनाउन लागि परेका छन् ।

यस वर्षको महाशिवरात्री पर्वमा नेपाल, भारत, भुटान लगायत अन्य राष्ट्रहरुबाट १० लाख सनातन धर्मावलम्बीहरु भगवान् श्री पशुपतिनाथको दर्शनार्थ आउने अनुमान गरिएको छ । डा. थापा भन्छन् “यस पटक पशुपति दर्शन गर्न आउने भक्तजनहरुका लागि सेवा सुविधामा कुनै कमि हुन दिइने छैन । हामीसंग उपलब्ध जनशक्ति र श्रोत साधनको भरपुर उपयोग गरी यस पर्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य राखेका छौं ।”

प्रतिक्रिया दिनुहोस्