Logo

मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भए, त्यसलाई रोक्न बहस गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पु¥याउन नसक्नु दुःखको कुरा भएको बताए । ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा विस्तारै नियोजन गरिँदैछ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारीपट्टी जाने र भारतका विभिन्न शहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठूलो धनराशी खर्च भइरहेको छ । यो सबैले महशुस गरेको कुरा हो’, उनले भने ।

उनले प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिने तर त्यही शिक्षा लिन युवापुस्ता विदेश जाने, पूँजी पलायन हुने क्रम नरोकिएको बताए । ‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौं’, उनले भने, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’
उनले परिषदले सीमित कार्यक्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘परिषदले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पु¥याउनेमा म विश्वस्त छु’, उनले भने ।

उनले गुणस्तीय शिक्षा, जनशक्ति उत्पादनका लागि कुन–कुन निकायले के जिम्मेवारी लिनुपर्ने र त्यसमा ऐन बाधक वा साधक के छ भनी खुलस्त बहस हुनुपर्ने औल्याए । ‘यदि ऐन बाधक हो भने ऐन बनिसक्यो भनेर शीर निहुराएर यसको विरोध गर्नुहुँदैन, विपक्षमा बोल्नु हुँदैन भन्ने हुँदैन । परिवर्तित परिस्थितमा ऐनले सम्बोधन गर्न नसकेका थुप्रै वस्तु हुनसक्छ । त्यसमा सशोधन आवश्यक छ भने बोल्न र बहस गर्नुपर्छ । तर म ऐन मान्दिन भन्न पाइँदैन । भएको ऐन मान्नुपर्छ ।

त्यसमा त्रुटी छ भने संशोधन गरेर समयानुकुल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ’, मन्त्री गिरीले भने । उनले आफूले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएकाले त्यसमा स्वास्थ्य क्षेत्रको सहयोग र सहकार्यबाट त्यो सम्भव हुने बताए । ‘नेपालको स्वास्थ्य क्षेत्रमा हामीले एउटा युगान्तकारी परिवर्तन ल्याउनुपर्छ र ल्याउनेछौं । होइन भने आम जनतामा अहिलेको प्रणाली र व्यवस्थाप्रति ठूलो वितृष्णा आउनेवाला छ’, उनले भने ।

कार्यक्रममा परिषदका पूर्व अध्यक्षहरू भरत झा, प्राडा. शिवकुमार राई, हरिकुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्रकुमार झा र रामप्रसाद भण्डारी तथा पूर्व रजिस्ट्रारहरू श्याम भाइ गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाति र काशिनाथ रिमाललाई मन्त्री गिरीले कदर पत्र र दोसल्लासहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्