Logo

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुख घिमिरेको चासो

सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले आज बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीलाई फोन गरेर सांसद भण्डारी र उहाँको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

आमा छोरा दुवै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारी र उहाँको आमाको उपचारमा कमी हुन नदिन सभामुख घिमिरेले अस्पतालका प्रमुख डा.नकर्मीलाई आग्रह गर्नुभएको छ । साथै सभामुख घिमिरेले चन्द्र भण्डारी र उहाँको आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । यता अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सिफारिस गर्नुभएको छ । बुद्धनगरस्थित निवासमा बुधवार राति ग्याँस सिलिन्डर विस्फोट हुँदा उहाँहरू जलेर घाइते हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्