Logo

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नेता तथा शुभेच्छुकको भीड

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालबाहिर नेता-कार्यकर्ता, आफन्त तथा शुभेच्छुकको भीड लागेको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आमा हरिकलाको भने बिहान १० बजेर ५७ मिनेट जाँदा उपचारको क्रममा निधन भएको छ । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता, शुभेच्छुकलगायत अस्पताल पुगेका छन् । उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग भण्डारीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । भण्डारीको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असर अझै तीनचार दिन बढी देखिन्छ । कांग्रेस नेता विमलेन्द्र निधि, दीलेन्द्र बडूलगायतका नेता अस्पताल पुगेका छन् । त्यस्तै रास्वपा सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी छन् । कांग्रेस, एमाले, माओवादीलगायतका नेता तथा सहपाठीले सामाजिक सञ्जालबाट भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा विष्णु पौडेललगायतका नेताहरू पनि अस्पताल पुगेका थिए ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री पदम गिरीले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको जानकारी दिएका छन् ।

‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने भनेकाले एक घण्टाभित्रमा उहाँलाई मुम्वई लैजाने व्यवस्था गर्दैछौं । मलाई लाग्छ उहाँको सुधारमा आउछ भन्ने मलाई विश्वास छ’, मन्त्री गिरीले भने ।भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । नेता भण्डारीले यहीँ उपचार गर्न पाए हुने भन्ने इच्छा व्यक्त गरेका छन् ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्