Logo

विद्यालयका पूर्व अध्यक्षले कुर्सी प्रहार गर्दा युवकको टाउकोमा गहिरो चोट

सर्लाहीको बरहथवा नगरपालिका–१०, किसनपुर कटानीमा रहेको दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्षले कुर्सी प्रहार गर्दा बुधबार विद्यालयमा पुगेका एक युवकको टाउकोमा गहिरो चोट लागेको छ ।

विद्यालयमा के–कसरी पढाई भइरहेको छ ? भनी बुझ्न गएका सोही ठाउँका २१ वर्षीय कृष्णकुमार चौधरीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले कुर्सी प्रहार प्रहार गरी घाइते बनाएका हुन् । कृष्णकुमारको टाउकोमा १० वटा टाँका लगाइएको छ । आफ्ना भाई, बहिनी सोही विद्यालयमा पढ्ने गरेकाले विद्यालयको अवस्था बुझ्न जाँदा पूर्व व्यवस्थापन समितिका अध्यक्ष यादवले राजनीतिक पूर्वाग्रह राखी आफूमाथि एक्कासी आक्रमण गरेको कृष्णकुमारको आरोप छ । कृष्णकुमार गएको बैशाख २९ मा भएको स्थानीय तह निर्वाचनमा जनमत पार्टीको तर्फबाट बरहथवा १७ मा वडाध्यक्षको उम्मेदवार थिए ।

पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले कृष्णकुमारले पटक–पटक विद्यालयमा आएर नराम्रो असर पारिरहेको आरोप लगाए । उनले कृष्णकुमारसँग आफ्नो विवाद मात्रै भएको दावी गरेका छन् । स्थानीयवासीले भने पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामनारायणले विद्यालयमा आएर अड्डा नै जमाएर बस्ने गरेको बताएका छन् । यादवले आफू अहिले फेरि ४ जना व्यवस्थापन समितिका सदस्यमध्ये एक भएको दावी गरेपनि बरहथवा १० की वडाध्यक्ष सर्मिलाकुमारी रामले यादव विद्यालयको कुनै पनि जिम्मेवारीमा नरहेको बताईन् । वडाध्यक्ष रामले विद्यालयमा पछिल्लो समय चरम राजनीति हुँदा समस्या रहेको स्वीकार गरेकी छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मकेन्द्रकुमार मिश्रले विद्यालयमा बुधबार भएको सो घटनाका घाइते र कुटपीट गरिएको भनिएका दुवै पक्षबाट एक अर्काविरुद्ध निवेदन आएको र वास्तविकता बुझ्ने काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्