Logo

नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरू

नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरू भएको छ। डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक संघमा सुरू भएको सम्मेलनमा देशभरबाट प्रतिनिधिहरू सहभागी छन् ।

कार्यक्रममा निवर्तमान शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल प्रमुख अथिति रहेका छन् । परिषद्ले प्रमुख अथितिका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, अन्तिममा कार्य व्यस्तताको कारण आउन नसक्ने जनाएपछि खनाललाई प्रमुख अथितिको रूपमा आमन्त्रण गरिएको हो । २ दिनसम्म चल्ने सम्मेलनबाट पेसागत माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउइनेछ । आफ्ना भावी रणनीतिहरू समेत तय गर्दै घोषणा पत्र जारी गरिने परिषद्का महासचिव शान्तिनाथ योगीले बताएका छन् ।

परिषद्ले अघि सारेका विभिन्न पेशागत मागहरू अझै सम्बोधन हुन सकेका छैनन् । यस्तो अवस्थामा जारी सम्मेलनबाट कस्तो खालको रणनीति तय हुन्छ भन्ने चासोका साथ हेरिएको छ । उनीहरूले गत भदौंमा आफ्नो सेवा सुरक्षाको ग्यारेन्टीसहितका विभिन्न माग अघि सारेर आन्दोलन थालेका थिए । सरकार उनीहरूलाई वार्तामा बसेर समस्याको समाधान गर्न आह्वा गरेपछि आन्दोलन स्थगित गरिएको थियो । शिक्षा मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थ मन्त्रालयले कुनै निर्णय गर्न नसक्दा अहिलेसम्म उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्