Logo

जनमतका सांसद खानलाई बर्खास्त गर्न माग

राष्ट्रिय एकता अभियानले जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई बर्खास्त गर्न माग गरेकाे छ । निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेकाे छ ।

खानलाई कारवाही गर्नका लागि काठमाडाैँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि अभियानले प्रदर्शन समेत गरेको छ। प्रदर्शनमा सहभागीहरुले अश्लील हर्कत गर्ने सांसद अब्दुल खानलाई बर्खास्त गर, अश्लील सांसद अब्दुल खान मुर्दावाद, संसदको गरिमासँग खेलवाड गर्ने सांसद राजीनामा दे, अश्लील सांसद राजीनामा दे, सीके राऊत होसमा आउ, अश्लील सांसदलाई कार्यवाही गर, अश्लील सांसद खान को संरक्षक सीके राऊत मुर्दावाद जस्ता नारा लगाएका थिए।

अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साहले निवर्तमान मन्त्रीकाे यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको जिकिर गरे। उपाध्यक्ष साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्