Logo

‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको छ ’ : ढाकाकुमार श्रेष्ठ

अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय नघाएर हिजो राति अबेर उनले स्पष्टीकरण दिएका हुन् ।

स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् । स्रोतले भन्यो, ‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ ।’

श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । यसअघि स्पष्टीकरणसँगै राजीनामा समेत दिने संकेत उनले अनुशासन आयोगलाई दिएका थिए । तर, केही कानून व्यवसायीहरूसँग छलफलपछि तत्काल राजीनामा दिने मनस्थिति उनले बदलेको स्रोतले बतायो ।

श्रेष्ठको स्पष्टीकरणपछि अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले आज दिनभरिमा ठोस निर्णय लिने आयोगका संयोजक भरत देवकोटाले बताए । आयोगलाई पार्टीमा प्रतिवेदन बुझाउन भोलिसम्मको समय छ । ‘सकेसम्म आजै, नत्र भोलि प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं,’ उनले भने ।

श्रेष्ठले आवाज आफ्नो भएको स्वीकार नगरेपछि यसको अनुसन्धानका लागि फरेन्सिक टेस्ट गर्नुपर्ने हुन्छ । यो विषयमा पनि अहिलेको वैठकमा छलफल हुनेछ । श्रेष्ठमाथि कारबाहीको निर्णय लिनुअघि आयोगले उनको थप बयान लिन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्