Logo

रास्वपालाई इमानको कशीमा ताज पहिराएर राख्छु– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई इमानको कशीमा सबैभन्दा माथि ताज पहिर्याएर राख्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीका विवादित सांसद ढाकाकुमार श्रेष्ठलक्षित टिप्पणी गर्दै उनले भ्रष्टाचारका मुद्दामा पार्टीले ऐतिहासिक निर्णय लिने बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई इमानको कशीमा सबैभन्दा कडा र सबैभन्दा माथि ताज पहिर्याएर राख्ने अभिलासा छ मेरो । म यो पुरा गर्छु । आफ्नालाई हेरेर होइन्, आम नागरिकलाई आफ्नो सोचेर निर्णय गर्नपर्ने हुन्छ,’– उनले भने ।

ऐतिहासिक घटनाक्रममा ऐतिहासिक निर्णय लिने उनले बताएका छन् । व्यक्तिको हितलाई हेरे भन्दा पनि आम नागरिकको हितमा निर्णय हुने उनले बताए । ‘इतिहास त्यतिखेर बन्छ, जब ऐतिहासिक घटनाक्रम आउँदा मान्छेले ऐतिहासिक निर्णय लिन्छ । पार्टीले राजनीतिक निर्णय लिँदा त्यो निर्णय व्यक्तिलाई हेरेर लियो कि मुलुकलाई हेरेर लियो ? त्यो भन्दा बाहेक अरु सोच्न हुँदैन,’– उनले भने ।

उक्त निर्णयमा विधि, कानुन र राजनीतका स्थापित मान्यताहरुका आधारमा निर्णय लिने बताए । आफूहरुका लागि जनतासँग गरेका वाचा र सुशासन महत्वपूर्ण भएको उनले बताए ।

‘भर्खरै सुरुवात भएको, नौ महिनामात्रै भएको पार्टीको जिम्मेवार सभापतिको हैसियतले यो बेलामा विधि के हो ? कानुनले के भन्छ ? राजनीतका स्थापित मान्यताहरु कस्तो हुनुपर्दछ ? राजनीति के का लागि गरेका हौं ? हामी किन राजनीतिमा आयौं ? आम जनताले छ महिनाभित्र हामीलाई जनताले यतिधेरै विश्वास किन दिए ? यो देशलाई माया गर्ने मानिसहरु आज यो पार्टीबाट राजनीतिक यात्रा किन सुरु गर्न चाहन्छन् ? हामीले जनताको घरदैलोमा पुगेर के के वाचा गर्यौं ? सबै कुराहरु हाम्रा लागि महत्वपूर्ण कुुरा हुन्,’– उनले भने ।

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैया घुस मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । श्रेष्ठलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधिसकेको छ । रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकले उनलाई के कारबाही गर्ने भन्ने बारेमा निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस्