Logo

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै मंगलबार उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने जनाए । उत्पादनमूलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने धारणा राखे ।

‘प्राथमिकता हामी कहाँ दिन्छौं, सबैभन्दा बढी प्राथमिकतमा अहिले जुन आर्थिक संकट जुन आइरहेको जस्तो देखिन्छ, जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादनमा वृद्धि नै हो,’ उनले भने, ‘कृषिमा आज लगानी गर्नुभयो भने तीन, चार महिनापछि नै नतिजा आउँछ । त्यसपछि उत्पादनमूलक उद्योगहरुलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ ।’ उनले हरित क्रान्ति कार्यक्रम लागु गर्नसके कृषि उत्पादन बढाउन सकिने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्