WordPress database error: [Disk full (/tmp/#sql-temptable-19a33-79f3ed8-284515.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp_postmeta`

आन्दोलनरत उखु किसान खुशी हुदै घर फर्किने तयारमा


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउनेगरी लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताए। आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने उनले बताए।

‘माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ, म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु।’ उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइसक्ने प्रतिबद्धता जनाएका हुन्। उनकाअनुसार १३ मध्ये ३ वटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी छ।

भट्टले नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिक टन चिनीको माग रहेको बताए। अझै ६५ हजार मेट्रिकटन अभाव रहेको उनले बताए।

कार्यक्रममाकार्यक्रममा उपस्थित उखु किसानले आफूहरु घर फर्किन तयार रहेको बताए। उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले मिडियाकै कारण आफूहरुको आन्दोलन सफल भएको बताए।

कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले सरकारप्रति विश्वास र भरोसा राखेरै लामो समयसम्म आफूहरु पर्खेर बसेको सुनाए।
तल्लो तहका सरकारी निकायबाट मागप्रति कुनै सुनुवाई नभएको उनले गुनासो गरे।

उखुको पैसा आउने कुरामा लिखित प्रतिबद्धता आउनुपर्ने उनले बताए। अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे।

उनले भने, ‘मैले तीन वर्षदेखि तीन लाख लिनुपर्नेछ, योबीचमा स्वास्थ्योपचारदेखि अन्य समस्या ऋण लिएर समाधान गरेँ, ऋणको व्याजले आर्थिक भार थपियो।’