WordPress database error: [Disk full (/tmp/#sql-temptable-19a33-79f4b65-282f13.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp_postmeta`

यस वर्ष सरस्वती पूजा उत्तम योगमा, यसरी गर्नुहोस् पूजा फाइदै फाइदा


काठमाडौँ – वसन्त पञ्चमी माता सरस्वतीको विशेष उपासना गर्ने महत्त्वपूर्ण पर्व हो । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने उक्त पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ । यसवर्ष माघ १६ गते बिहीबार गुरु बृहस्पतिकै बारमा पञ्चमी तिथि परेकाले पनि यो बर्षको सरस्वती पूजालाई बिशेष रुपमा हेरिएको छ ।

यस्तो संयोग परेको समयमा विद्या आरम्भ गर्नका लागि अति नै शुभ हुने भएकाले साधनामा लाग्नेहरुका लागि भने विशेष दिन रहनेछ । शास्त्रमा वर्णन भएअनुसार यस पवित्र दिनमा भगवान विष्णु तथा कामदेवको पूजाको पनि वर्णन गरिएको छ। सर्व प्रथम भगवान श्रीकृष्णले ज्ञानादृष्टादी श्री सरस्वतीको पूजा गरेर दिव्य ज्ञान प्राप्त गरेकाले पनि पञ्चमी तिथिलाई पूर्ण तिथिका रुपमा पूर्ण ज्ञानप्राप्तिको कामनाले पूजा तथा आरधना गर्ने नियम रहिआएको शास्त्रमा उल्लेख गरिएको छ । विद्या आरम्भ गर्नेका लागि यस वर्षको सरस्वती पूजाको दिन निक्कै शुभ रहने हुनाले यसै दिनदेखि सुरु गर्दा कुनै प्रकारको साइत हेरिरहनु नपर्ने ज्योतिषीहरुले बताउने गरेका छन् । बर्षमा चार ओटा नवरात्रहरु पर्दछन् त्यसमा माघ शुक्ल पक्षको समयलाई पनि गुप्त नवरात्र भनेर पनि भनिएको छ ।

भगवती सरस्वती सत्वगुण सम्पन्न भएकीले मन, बुद्धि र ज्ञानकी अधिष्ठात्रीका रुपमा पूजा तथा साधना गर्नाले मानवजातिको सम्पूर्ण कामना पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । यस्ता प्रकारका कामना पूर्ण हुनका लागि शुभ समयमा र शुभ योगमा मात्रै हुने भएकाले यस्ता प्रकारका तिथि तथा पूर्ण योगको खगोलीय तरिकाबाट गणना गरिएको हो ।

पञ्चमी तिथिका देवता नाग हुन र उक्त तिथि पूर्ण तिथिभएकाले यस दिनलाई हरेक प्रकारमा शुभ कर्म गर्नका लागि कुनै प्रकारका साईत हरु कुर्नुनपर्ने र यस दिन गरिएको कर्मले दीर्घकालीनसम्म माताको कृपा रहिरहने धार्मिक विश्वास समेत रहिआएको छ । नाक तथा कान छेड्नका लागि पनि यसदिन शुभ हुने कुरा उल्लेख गरिएको छ ।

अध्ययनरत हरेक मानिससले उत्तिकै मिहेनतका साथ पढिरहेका हुन्छन् त्यसमा कसैलाई राम्रो सफलता मिल्दछ भने कसैको पढाइ पूरा हुनै पाउँदैनन् । शास्त्रकाअनुसार कुन मानिसले कस्तो प्रकारको पढाइमा सफलता पउने र कतिसम्म पढ्ने भनेर पहिले नै निर्धारण भइसकेको हुन्छ त्यही कुरालाई जानेर पढाइमा लगाउने हरुले विशेषगरी सफलता प्राप्त गरेको ज्योतिषीहरुले जानकारी गराएका छन् । प्राचीन कालमा पनि यस्ता प्रकारका कुराहरुको वर्णन व्यापक रुपमा गरिएको पाइन्छ। शास्त्रहरु लेख्ने तथा शस्त्र अस्त्रहरु चलाउने फरकफरक व्यक्तिले गर्ने भएकोले पनि अहिले कस्ता योग भएकाहरुलाई कुन प्रकारको शिक्षा दिने भन्ने जानेर मात्रै अध्ययनमा लगाएमा मात्रै सफल हुने जानकार हरु बताउदछन् ।

हरेक व्यक्तिलाई माता सरस्वतीको कृपा फरक फरक तरिकाबाट हुने गरेको छ । कसैलाई घोक्ने तरिका राम्रो हुन्छ भने कसैलाई सिपमुलक काममा राम्रो हुन्छ । जसरी भएपनि मातको कृपा हरेक मानिसमा कुनै न कुनै प्रकारको हुन्छ नै । शास्त्रमा भनिएको छ, बुद्धि र ज्ञान दुबै फरक फरक कुरा हुन, तर बुद्धि तथा ज्ञान दुबैको तालमेल मिलेमा मात्रै सफल हुनेछ । बुद्धि दिने ग्रहका रुपमा बुध ग्रहलाई हेरिन्छ भने ज्ञानको कारक ग्रहका रुपमा बृहस्पति ग्रहलाई हेरिन्छ । माघ १६ गते ज्ञानदिने ग्रह बिहीबार बृहस्पति ग्रहको बार परेकाले पनि साधना गर्ने हरुका लागि बिशेष दिन रहनेछ ।

कसरी गर्ने पूजा र साधना ?

यस दिन ब्रहम्म मुहूर्तमा उठेर स्नान तथा नित्यकर्म पश्चात् पञ्च गव्य खाएर पूजा तथा अध्ययन कोठामा माता सरस्वतीको मुर्ति तथा प्रतिमा स्थापना गरेर वैदिक बिधि पूर्वक दूध, दही, ध्यू, मह तथा सक्खरले मूर्ति तथा प्रतिमामा चढाएर र फूलमाला लगाइदिने र धुप बत्तीले आरति गरेपछि सरस्वती स्तोत्रको पाठ गर्नु पर्ने बिधान रहेको छ । सक्नेले १०८ पटक सरस्वतीको मन्त्र जप गर्दा वाणीमा सिद्ध हुने पनि बताईएको छ । यसरी पूजा तथा आराधना गरेमा हरेक प्रकारका कर्मसिद्ध हुने छ। उक्त दिन सरस्वती यन्त्र बनाएर साना बच्चाहरुलाई धारण गरिदिएमा बुद्धि तथा ज्ञान खुल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।